डाक्टर भएको बताउँदै लुटपाट गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं ।  सामाजिक सञ्जालमार्फत आफूलाई ‘डाक्टर हुँ’ भन्दै लुटपाटका क्रियाकलापमा संल्गन रहेको आरोपमा प्रहरीले ३० वर्षीय एक पुरुषलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा मोहत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३० वर्षीय डा  आलोक भनिने जितेन्द्र मण्डल रहेका छन्।

डाक्टर दाबी गर्ने मण्डलले सुगर रोग निको पार्ने भन्दै मानिसहरुलाई बेहोस बनाउने औषधि सेवन गराई सुनचाँदीका गहना लुटपाट गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए। आचार्यका अनुसार मण्डलले सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू (सिक्री, औंठी, झुम्का,टप, मंगलसूत्र) र नगद तीन लाख समेत चोरी गरेका पाइएको छ।

मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो। प्रहरीले मण्डलको साथबाट नगद ५९ हजार तीन सय ६० रूपियाँ र विभिन्न ब्रान्डका तीन थान मोबाइल बरामद गरेको छ । मण्डललाई चोरीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर