गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा चन्द्रकोट-६ झापा बस्ने ३० वर्षका बिनोद बिक र ४० बर्षका किरण कुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका (एसपी) राजन भुजेलले जानकारी दिए ।
जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-७ सिस्नेखोलास्थित मजुवा-रिडी सडक खण्डमा लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको थियो । सडक छेउमा पल्टिएको स्कुटरबाट बाटोदेखि अन्दाजी २५० मिटर तल सिस्ने खोलाको पानीमा दुई जना पुरुष अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उद्धार गरी उपचारको लागि प्रथामिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनी गुल्मीमा पठाएका थिए । अस्पताल पुर्याएपछि डाक्टरले उनीहरु दुबै जनालाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।