भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) दिल्लीमा उनको निधन भएको हो । बिहीबार साँझ घरमै अचानक बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो । लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री भएका मनमोहन सिंहको व्यक्तिगत छवि एकदम सफा मानिन्छ । भारतमा आर्थिक सुधारको श्रेय उनलाई जान्छ । सन् २००४ देखि २०१४ सम्मको उनको प्रधानमन्त्रीको कार्यकाल वा यसअघिको अर्थमन्त्रीको रूपमा उनले आर्थिक सुधारको काम गरेका थिए । उनी जवाहरलाल नेहरूपछि पहिलो भारतीय थिए, जो लगातार दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

सिंहको दोस्रो कार्यकालको धेरै चर्चा हुने गर्छ । यो अवधिमा धेरै भ्रष्टाचारका घटना बाहिर आए । जसका कारण २०१४ को आमचुनावमा कांग्रेसले पराजय भोग्नुपरेको टिप्पणी हुने गरेको छ । सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा तत्कालीन पञ्जाब प्रान्तमा भएको थियो । यो भाग अहिले पाकिस्तानमा छ । पञ्जाब विश्वविद्यालयमा पढेपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर र अक्सफोर्डबाट डीफिल गरेका थिए।

सिंहकी छोरी दमन सिंहले आफ्नो पुस्तकमा क्याम्ब्रिजमा पढ्दा आर्थिक संकटबाट गुज्रिएको उल्लेख गरेकी छन् । मनमोहनले आफ्नो जीवन अत्यन्त सादगी र मितव्ययीताका साथ बिताए। मनमोहन सिंह सन् १९९१ मा भारतको अर्थमन्त्री भएका थिए । त्योबेला देशको आर्थिक अवस्था निकै नाजुक थियो । अप्रत्याशित नियुक्तिले उनको लामो र सफल करियरमा नयाँ उचाइ ल्यायो । अर्थमन्त्रीको रूपमा आफ्नो पहिलो भाषणमा उनले भिक्टर ह्युगोलाई उद्धृत गर्दै भनेका थिए, ‘यो संसारको कुनै पनि शक्तिले विचारलाई रोक्न सक्दैन । जसको समय आएको छ।’

अर्थमन्त्री भएपछि उनले कर कटौती गरे, सरकारी कम्पनीलाई निजीकरण गरे र विदेशी लगानी बढावा दिए। अर्थतन्त्रमा सुधार आयो । उद्योगहरूको तीव्र वृद्धि भयो। बढ्दो मुद्रास्फीति नियन्त्रण भयो र सन् १९९० को दशकमा वृद्धिदर निरन्तर उच्च रह्यो। मनमोहन सिंहलाई आफूसँग राजनीतिक समर्थनको आधार छैन भन्ने राम्ररी थाहा थियो। उनले भनेका थिए, ‘राजनीतिज्ञ बन्नु राम्रो कुरा हो । तर लोकतन्त्रमा राजनीतिज्ञ बन्न पहिला चुनाव जित्नुपर्छ । तर, सन् १९९९ मा लोकसभा चुनाव जित्ने प्रयास गर्दा उनी निराश भएका थिए । तर, कांग्रेसले उनलाई राज्यसभामा पठाइदियो ।

२००४ मा पनि त्यस्तै भयो। तत्कालीन कांग्रेस अध्यक्ष सोनिया गान्धीले प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि मनमोहन सिंह प्रधानमन्त्री बनेका थिए । त्यसपछि सोनिया गान्धीमाथि उनको विदेशी मूलबारे प्रश्न उठ्यो। तर, आलोचकहरूले मनमोहन सिंहलाई प्रधानमन्त्री बनाए पनि वास्तविक शक्ति सोनिया गान्धीको हातमा रहेको बताएका थिए । सिंह प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो कार्यकालमा सबैभन्दा ठूलो सफलता अमेरिकासँग परमाणु सम्झौता थियो । उनको पालामा यो ऐतिहासिक सम्झौता भएको थियो र त्यसैको कारण भारतले अमेरिकाको आणविक प्रविधिमा पहुँच पाएको थियो ।

तर, मनमोहन सिंह सरकारलाई समर्थन गर्ने वामपन्थी दलले आफ्नो समर्थन फिर्ता लिएपछि कंग्रेसले बहुमत जुटाउन संघर्ष गर्नुपरेको थियो । कांग्रेसले सांसदको समर्थन किन्न पैसा खर्च गरेको आरोप लागेको थियो । मनमोहन सिंह सहमति निर्माणको पक्षमा थिए । उनले गठबन्धन सरकारको जिम्मेवारी सम्हालेका बेला गठबन्धनलाई मनाउन गाह्रो थियो । उनलाई नरम व्यक्तित्व भएको मानिन्थ्यो र उनी निर्णय लिन असक्षम मानिन्थे । तर, केही आलोचकहरूले उनले अर्थमन्त्री हुँदा शुरू गरेका आर्थिक सुधारलाई प्रधानमन्त्री हुँदा अगाडि बढ्न नसकेको बताउँछन् । मनमोहन सिंहको नेतृत्वमा कांग्रेसले २००९ मा दोस्रो पटक निर्णायक चुनाव जितेको थियो ।

तर विजयको चमक चाँडै बन्द भयो । उनको दोस्रो कार्यकालको मन्त्रिपरिषद्का धेरै मन्त्रीहरूलाई घोटालाको आरोप लगाइएको थियो । विपक्षीहरूले संसद् अवरुद्ध गर्ने क्रम जारी राखे र नीतिगत गतिरोधका कारण देशले गम्भीर आर्थिक मन्दीको सामना गर्‍यो । उनले चीनसँगको सीमा विवाद अन्त्य गर्ने प्रयास गरे र ४० वर्षभन्दा लामो समयदेखि बन्द रहेको नाथुला पासलाई पुनः खोल्ने सम्झौता गरेका थिए । मनमोहन सिंहका श्रीमती र तीन छोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर