सेनाद्वारा हवाई फायर, खाग तस्कर नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाले हवाई फायर गरी हेटौँडाबाट गैंडाको खाग तस्करीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सेनाको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. ८ स्थित गर्दोईबाट बिहीबार मध्याह्न हवाई फायर गरी गैंडाको खाग तस्करी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका श्री नयाँ गोरख गणका उपसेनानी दीपक बाँस्कोटासहितको टोलीले गैंडाको खाँग तस्करी गर्ने व्यक्तिलाई खोजतलास गर्दै जाने क्रममा गर्दोई नजिक चौरबाट एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार पक्राउ परेका व्यक्तिको नाम, थर र ठेगाना खुलाइएको छैन र निजलाई आवश्यक कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयतर्फ लगिएको छ । ती व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा नेपाली सेनाले कोलकमाण्डो हतियारबाट पाँच राउण्ड हवाई फायर गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर