हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौं उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्ने छ । साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने । यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छभने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ । विभागले बिहीबार बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने भएकाले स्वास्थ्य, यातायात, नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
यसैबीच सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको मौसम बदलीले देशका धेरैजसो स्थानमा प्रभाव पारेको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण मंगलबार बिहानदेखि रातिसम्म देशका विभिन्न भागमा वर्षा भएको हो । काठमाडौं उपत्यकामा पनि गएराति यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात भएको छ । वर्षा र हिमपातसँगै चिसो थप बढेको छ ।
आजदेखि भने मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हाल कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ । लुम्बिनीमा आंशिक बदली छ । तर, तत्काल पानी पर्ने सम्भावना भने छैन । बिहीबारसम्म मौसम खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।