चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला
काठमाडौ । हेटौँडा उपमहानगरपालिका १५ स्थित ऐतिहासिक महत्वको सुरुङमार्ग बागमती प्रदेश सरकारले जीर्णोद्धारपछि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । हेटौँडा उपमहानगरपालिकालाई सोमबार हस्तान्तरणसँगै लामो समयपछि सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिएको छ ।
बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत जीर्णोद्धार गरिएको चुरियामाई सुरुङमार्ग सोमबार चुरियामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा निर्देशनालयले उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङमार्गको जीर्णोद्धारसँगै अब हेटौँडा उपमहानगरपालिकाले सुरक्षा र संरक्षणको जिम्मा पाएको छ ।
सो सुरुङमार्गको सुरुमा पाँच सय मिटर निर्माण गरिएकोमा हाल २२५ मिटर मात्र बाँकी छ । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई सुरुङमार्ग भएर विगतमा जीप, लहरीलगायतका साना सवारी आवतजावत हुने गरेको थियो । नेपालको पहिलो सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा वि.सं. १९७४ सालमा निर्माण गरिएको चुरियामाई सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको थियो ।