पश्चिम नवलपरासीको रामग्राममा बुद्धकालीन शहरको संरचना

काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम १८ मा रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरमा गरिएको उत्खननको क्रममा बुद्धकालीन शहरको रचना भेटिएको छ। यसअघि गरिएका अध्ययनलाई पुष्टि गर्ने गरी बुद्धकालीन शहरको संरचनासहित विभिन्न सामग्री पनि भेटिएका छन्। कोलीय गणराज्यको महत्वपूर्ण शहर मानिएको पण्डितपुरमा पुरातत्व विभागले तीन हप्तासम्म गरेको उत्खननबाट महत्वपूर्ण प्रमाण भेटिएका हुन्।
यसअघि भएको जियोफिजिक्स सर्भे (भू–भौतिक अध्ययन) का क्रममा देखिएको बुद्धकालीन शहरको संरचना उत्खननको क्रममा फेला परेको छ । पुरातत्व विभाग र त्रिभुवन विश्वविद्यालयको अध्ययन टोलीले चार स्थानमा गरेको उत्खननको क्रममा पर्खालको संरचनासहित जनावरका मस्र्ति, गरगहनालगायतका पुरातात्त्विक सामग्री फेला परेको पुरातत्त्वविद् भाष्कर ज्ञवालीले जानकारी दिए ।
सामग्रीको थप अध्ययन गरेर धेरै कुरा थाहा हुने उनको भनाइ छ। पण्डितपुरमा उत्खनन टोलीले एक ठाँउमा तीन मिटर गहिरो खाडल खनेर सो भित्रको प्राचीन, सांस्कृतिक अवस्थाको विषयमा पनि अध्ययन गरिएको थियो । बुद्धकालदेखि मुस्लिम बसोबास अवधिसम्मको विविधता पण्डितपुरमा भेटिएको ज्ञवालीले बताए ।