भारतीय संसद् भवन परिसरमा सांसदहरूबीच झडप

काठमाडौं । भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबीच झडप हुँदा भारतीय जनता पार्टीका सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको भाजपाले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांसद सारङ्गी र राजपुतलाई फोन गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीले भाजपा सांसदहरूले आफूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको र धकेलेको आरोप लगाएको छ । काङ्ग्रेसले सत्तारुढ पार्टीका सांसदले धकेल्दा आफ्ना अध्यक्ष मल्लिकार्जुन खड्गेलाई खुट्टामा चोट लागेको बताएको छ । भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणी गरेको विषयमा सत्तारुढ दल र विपक्षी दलका नेताबीच विवाद चर्किँदा संसद् परिसरमा समेत झडप भएको हो ।

भारतीय जनता पार्टीका सांसद सारङ्गीले कांग्रेस नेता राहुल गान्धीको धक्काले आफू घाइते भएको दावी गरेका छन । सारङ्गीले आफू सिँढीमा उभिरहेको बेला विपक्षी नेताहरूको धकेलाधकेलमा सांसदहरू आफूमाथि लडेको र यसबाट आफ्नो टाउकोमा चोट लागेको बताए । सिंहले पत्रकारसँग भने, “गान्धीले संसद्मा प्रवेश गर्ने क्रममा एक जना सांसदलाई धक्का दिनुभयो उहाँ ममाथि परेपछि म ढलेँ ।”

घटनापश्चात् भाजपा सांसदलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो । दुवै सांसदलाई दिल्लीको राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अजय शुक्लाले बताए । उनले भने, “उहाँहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । लक्षणसहितको उपचार सुरु भएको छ । दुवैजनाको टाउकोमा चोट लागेकाले आईसीयूमा भर्ना गरिएको छ ।”

उनले भने, “अस्पतालमा ल्याइपु¥याउँदा सांसद् सारङ्गीलाई गहिरो चोट लागेको र अत्यधिक रक्तस्राव भइरहेको थियो, अहिले उहाँको उपचार सुरु गरिएको छ । परीक्षणहरू पनि भइरहेका छन् ।” शुक्लाले भने, “राजपुत बेहोस भएपछि ल्याइएको र अहिले उहाँ होशमा हुनुहुन्छ तर चिन्तित देखिनुहुन्छ ।”

काङ्ग्रेस नेता राहुल गान्धीले घटनामा आफ्नो बचाउ गर्दै भने, “म संसदभित्र पस्ने कोसिस गरिरहेको थिएँ, मलाई भाजपा सांसदहरूले धकेले र अवरोध गर्दै धम्की दिए ।” गान्धीले भने, “उनीहरूले काङ्ग्रेस प्रमुख मल्लिकार्जुन खड़्गेलाई पनि धकेले । यो तपाईंको क्यामेरामा हुन सक्छ।” उनले थपे, “हामीलाई झट्काले असर गर्दैन । यो प्रवेशद्वार हो र हामीलाई भित्र जाने अधिकार छ ।”

कांग्रेस सांसद केसी वेणुगोपालले भारतीय जनता पार्टीका सांसदहरूले कांग्रेस नेताहरूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको आरोप लगाएको छ । उनले भने, , “लज्जाजनक घटना भएको छ । भाजपाका सांसदहरूले कांग्रेसका अध्यक्ष तथा आदरणीय नेतालाई धक्का दिए भने लोकसभाका विपक्षी नेतालाई पनि सदनमा प्रवेश गर्नबाट रोकियो र धकेलियो। भाजपाका यी सांसदहरू वातावरण बिगार्न र संसदको गरिमा घटाउनका लागि स्पष्ट रूपमा जिम्मेवार थिए।”

भारतीय जनता पार्टी (भाजपा) ले गान्धी र अन्य सांसदहरूविरुद्ध वा भाजपा सांसदहरूविरुद्ध शारीरिक हिंसाको आरोप लगाउँदै उजुरी दर्ता गर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर