मस्को विस्फोटमा रुसी जनरल किरिलोभ र उनका सहकर्मी मारिए
काठमाडौं । रुसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ । रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट हुँदा उक्त घटना भएको बताए ।
प्रवक्ताले भने, ‘अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा भएको छ । रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मी उक्त विस्फोटमा मारिएका छन् ।’ पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान सुरु गरेको छ । हाल अपराधको पछाडिको अवस्थाको अनुसन्धान भइरहेको छ ।
यसैबीच, युक्रेनी सुरक्षा बलले हत्याको जिम्मा लिएको भन्दै रोयटर्स र एएफपीले समाचार सम्प्रेषण गरेका छन् । युक्रेनी सञ्चार माध्यम किभ इन्डिपेन्डेन्ट र न्यूज एजेन्सी आरबीसी युक्रेनले पनि एजेन्सीका अज्ञात स्रोतलाई उद्धृत गर्दै युक्रेनी सुरक्षा सेवाले उनको हत्या गरेको भनेको छ ।