रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबार कास्की अदालतले चार दिन थप हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रहरीले मंगलबार चार दिन हिरासतमै राख्न अनुमति मागेको थियो ।
प्रहरीले गोर्खा मिडियाकै पूर्वप्रवन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । अब चार दिन पछि अनुसन्धान प्रतिवेदनसहित सरकारले लामिछानेसहित आरापी अन्यलाई मुद्दा चलाउने छ ।