उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउँदै

काठमाडौं ।  छिमेकी मुलुक भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउने भएको छ। जनकपुरधाममा आयोजन हुन लागेको रामायण कन्क्लेबको उद्घाटनमा सहभागी हुनको लागि योगी आदित्यनाथ जनकपुरधाम आउन लागेको जनाइएको छ ।

जनकपुरधाममा आगामी शनिबार कन्क्लेबको समुद्घाटनको कार्यक्रम रहेको छ । मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको आमन्त्रणमा मुख्यमन्त्री योगी विवाह महोत्सवमा हुन जनकपुर आएका थिए । भारतको उत्तर प्रदेश सरकारको पर्यटन विभागको आयोजनामा जानकी जन्मभूमि जनकपुरधाममा यसै हप्ता अन्तर्राष्ट्रिय रामायण कन्क्लेबको आयोजना हुन लागेको हो ।

भारत सरकारको रामायण सर्किट अन्तर्गतको मार्गमा जनकपुरधाम पनि समावेश छ । उत्तर प्रदेशको पर्यटन संस्कृति विभाग, जानकी मन्दिर र जनकपुरधामको संयुक्त आयोजनामा हुन लागेको दुई दिवसीय कन्क्लेबमा उत्तर प्रदेश राज्यका मन्त्रीहरू पनि आउने बताइएको छ । उत्तर प्रदेशको अयोध्या र जनकपुरधामबिच त्रेता युगकालीन सम्बन्ध रहेको छ । त्रेता युगमा भगवान् रामले भगवान् शिवको धनुष (पिनाक) लाई तोडेपछि मिथिलाकी राजकुमारी सीतासित विवाह सम्पन्न भएको थियो ।

भारत सरकारले रामायणमा आधारित धार्मिक, सांस्कृतिक महत्त्व भएका स्थलहरूलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न रामायण सर्किट बनाएको छ । रामायण सर्किटको प्रमुख स्थानहरू मध्ये जनकपुरधाम र धनुषा धाम एक हो । विश्वव्यापी मर्यादा पुरुषोत्तम राम अन्तर्राष्ट्रिय रामायण कन्क्लेब जनकपुरधामसमेत भारतको ६ राज्य र श्रीलङ्कामा समेत गरी १० स्थानमा आयोजना गरिनेछ ।

जनकपुरधाममा पुसको ६ र ७ गते जानकी मन्दिर परिसरमा आयोजना हुने कन्क्लेबमा भजन सम्राट् पद्मश्री अनुप जलौटाको भजन सन्ध्या कार्यक्रम हुनेछ । मिथिला नाट्यकला परिषद्ले जानकी लीला र मथुराको बमर सिया र धोबियाले लोकनृत्य प्रस्तुत गरिने कार्यक्रम राखेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर