दैलेखमा पेट्रोलियम पदार्थ ड्रिलिङको अन्वेषण कार्य अन्तिम चरणमा

काठमाडौं ।  दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ अन्तिम चरणमा रहेको छ । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म तीन हजार ६६० मिटर ड्रिलिङ भइसकेको जानकारी दिए ।

उनले जेठ महिनाबाट सुरु गरिएको ड्रिलिङ मङ्सिर मसान्तसम्म सक्ने भए पनि कडा चट्टानका कारण पुस महिनासम्म लम्बिएको बताए । उनले भने, “जति गहिरो ड्रिलिङ गरिएको छ त्यसको प्रत्येक दुई–दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण विज्ञले गरिरहेको त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरिरहेका छौँ ।”

उनले भने, “दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन हुने छ । पेट्रोलियम पदार्थ हुन तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केत सफलतापूर्वक प्राप्त भइरहेको छ ।” ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ । हाल चिनियाँ र नेपाली गरी ७० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ । दैलेखको शिर स्थान, नाभी स्थान, पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो ।

सुरुमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेन । पहिलो चरणमा चिनियाँ प्राविधिकले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिङ हाउस निर्माण गरी ड्रिलिङ सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ । भूगर्भविद् लुइँटेलले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर