नेवारी कला र संस्कृतिको प्रवर्द्धनमा सक्रिय प्रजापति ‘ज्यापु हलिं विशेष सम्मान’ बाट सम्मानित
काठमाडौं । बेलायतमा रहेर नेवारी कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर सक्रिय अभियन्ता सुशील प्रजापति ज्यापु हलिं विशेष सम्मानबाट सम्मानित भएका छन् ।
२१ औं ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजापतिलाई ‘ज्यापु हलिं विशेष सम्मान’ बाट सम्मान गरेका हुन् ।
डायस्पोरामा नेवारी कला, संस्कृति, जात्रा, बाजागाजा, भाषालगायतको प्रवर्द्धनमा निरन्तर योगदान दिएबापत ज्यापु संस्कृति संरक्षण कोषका तर्फबाट प्रजापतिलाई सम्मान गरिएको हो ।
कोषले हरेक वर्ष योमरी पुन्हीका दिन मनाउँदै आएको ज्यापु दिवसका अवसरमा नेवारी कला, संस्कृतिका क्षेत्रमा योगदान गर्ने अभियन्ताहरुलाई सम्मान गर्दै आएको छ । यस वर्ष सम्मान पाउने आधा दर्जन व्यक्तित्वमध्ये डायस्पोराबाट प्रजापति मात्रै सम्मान पाएका थिए ।
प्रधानमन्त्रीबाट ‘ज्यापु हलिं विशेष सम्मान’ ले सम्मानित प्रजापति पासा पुचः गुथि यूकेका वर्तमान अध्यक्ष हुन् । उनले डेढ दशकभन्दा लामो समयदेखि बेलायतमा नेवारी बाजा, भाषा, जात्रा, परिकारलगायतको प्रवर्द्धन गर्दै आएका छन् । प्रजापतिको सोही कार्यको कदरस्वरुप यसअघि लन्डनको रोयल ग्रीनवीच बरोले पनि उनलाई ‘सिभिक अवार्ड’ प्रदान गरेको थियो ।