बार्सिलोनाको हार, म्यानचेस्टर युनाइटेडको विजय

काठमाडौं ।  स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनाले आइतबार लेगानेस हातबाट १–० को हार बेहोरेको छ । हारले उपाधि होडमा बार्सिलोनाको चुनौती अझ कमजोर बनेको छ । बार्सिलोनाको १८ खेलबाट ३८ अंक मात्र भएको छ ।

भ्रमणकारी लेगानेसका लागि सर्जियो गोन्जालेजले चौथो मिनेटम हेडबाट गरेको गोल नै निर्णायक रह्यो । पूरा खेल अवधिमा क्याटलान टिमले शृंखलाबद्ध आक्रमण बुने पनि त्यसमध्ये कुनैलाई पनि निर्णायक बनाउन सकेन् ।

सिजनको सुरुमा ह्यान्सी फ्लिकको बार्सिलोनाले उत्कृष्ट सुरुआत लिएपनि अब लिगका पछिल्ला छ खेलमध्ये तीनमा पराजित भएको छ । आइतबारकै अर्को खेलमा एटलेटिको म्याड्रिडले गेटाफेलाई १–० ले हरायो । त्यसमा एलेक्जान्डर सोरिथले निर्णायक गोल गरे ।

एटलेटिको समान ३८ अंकमै दोस्रोमा छ भने रियल म्याड्रिड ३७ अंकमा तेस्रो स्थानमा छ । बार्सिलोनाको तुलनामा दुवै म्याड्रिड क्लबले एक खेल कम खेलेको छ । बार्सिलोनाको हारपछि पेड्रिले आफ्ना सबै साथी खेलाडी निराश रहेको स्वीकारे।

यसैबीच, इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले  म्यानचेस्टर सिटीलाई आइतबार २–१ ले पराजित गरेको छ । एक गोलले पछाडि रहेको युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ८८ औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे । इतिहाडमा भएको खेलमा त्यसपछि एमाड डिएगोलले ९० औं मिनेटमा दोस्रो गोल थपे । त्यस अगाडि सिटीका लागि जस्को ग्भारडिलोले पहिलो हाफमा गोल गरेका थिए । यससँगै सिटीका व्यवस्थापक पेप ग्वार्डिओलामाथि चर्को दबाब सिर्जना भएको छ ।

खेलपछि उनले प्रतिक्रिया दिंदै भनेका छन्, ‘सायद म राम्रो फुटबल प्रशिक्षक होइन होला । म नै सिटीको प्रशिक्षक हुं, त्यसैले मैले यो खराव प्रदर्शनको शृंखला तोड्नु नै पर्छ । यो नै एक मात्र सत्य हो ।’

आइतबारको अर्को खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–१ ले हरायो र लिग तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरी दुई अंकमा छोट्यायो । लिभरपुलको १५ खेलबाट ३६ अंक छ भने चेल्सीको १६ खेलबाट ३४ अंक भएको छ । अर्को खेलमा टोटनहमले साउथह्याम्पटनलाई ५–० ले हरायो । यस हारसँगै साउथह्याम्पटनले आफ्ना प्रशिक्षक रुसेल मार्टिनलाई वर्खास्त गरेको छ । साउथह्याम्पटन पाँच अंकमा सबैभन्दा पुछारमा छ । आइतबारकै अर्को खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई ३–१ ले हरायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर