भक्तपुर महोत्सवको दोस्रो दिनमा सर्वसाधारणको उल्लेख्य सहभागिता
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा र्मसिर २८ गतेदेखि सुरु भएको भक्तपुर महोत्सवको दोस्रो दिन आज शनिबार कला, संस्कृतिप्रेमी आम जनमानसको उल्लेखनीय सहभागिता रह्यो । आज शनिबार भक्तपुरका प्राचीन बस्ती, चोक, बहाः गल्लीगल्छेडोमा सर्वसाधारणहरूले निकै अभिरूचिपूर्वक महोत्सवमा प्रस्तुत गरिएका झाँकी, विभिन्न देवदेवीका नृत्य, परम्परागत खाद्यवस्तुका परिकार बनाउने तरीका, जुजु धौको स्वाद लिएर आनन्दको अनभूति व्यक्त गरेका थिए । साधारण दिनहरूमा खाली–खालीझैँ रहने बाटा–चौबाटाहरूमा ठेलमठेलको स्थिति देखिन्थ्यो । आन्तरिक र वाह्य पर्यटनलाई महत्ता दिन अर्थात् प्रवर्धन गर्न आयोजना गरिएको महोत्सवले सार्थकता पाएको छ ।
भक्तपुर नगरपालिकाले सर्वसाधारणको सुविधाका लागि प्राचीन वस्तीहरूमा “नो–भेहिकल” को सिद्धान्त अख्तियार गरेर सर्वसाधारणलाई निर्धक्कसँग महोत्सवको मजा लुट्न सघाउ पुर्याएको स्पष्ट देखिन्थ्यो । महोत्सवको मार्ग क्षेत्रमा परम्परागत योमरी, मःमः, चिउरा कुट्ने, नेवार संस्कृतिअनुरूप जन्मदेखि मरण संस्कारका लागि चाहिने माटाका भाँडा बनाउने कलाको प्रदर्शनी, स्थानीयले भोजभतेरकालागि चाहिने रक्सी र जाँड बनाउने तरिका, आत्मनिर्भरताका लागि घरबुना कपडा, बिस्का जात्राको भैरवनाथको रथ, लिंगो, इन्द्रजात्राको ऐरावत हात्ती, गाईजात्रामा भक्तपुर नगरमा घुमाइने परालबाट बनाइएको भैरवनाथको प्रतीकको ताहामचा, पिचाश चर्तुदशीका दिन प्रदर्शन गरिने गथामुगः, विभिन्न सांस्कृतिक पर्व र अवसरमा प्रदर्शन गरिने जात्राका लागि तयार पारिएको खट तथा रथहरू पनि नगरभरि प्रदर्शनमा राखेर नेपाली कला, संस्कृतिलाई जीवन्त पार्ने प्रयासलाई हदैसम्म टेवा दिएको पाइन्छ ।
कतिपय नेवार संस्कृतिका परिवारजनले आधुनिकताका कारण बिर्सिसकेका परम्परागत खेलहरू महोत्सवमा प्रदर्शन गरेर प्रत्येक नेवारी संस्कृतिप्रेमीहरूलाई आ–आफ्नो मौलिकपन बिर्सन हुन्न भनी झक्–झक्याएको छ । यस्तै, ख्वप कलेजमा विज्ञान प्रदर्शनी, ख्वप इञ्निनियरिङ कलेजमा सुरक्षित भवन निर्माणसम्बन्धी प्रदर्शनीले महोत्सवमा नयाँ आयाम थपेको छ । सर्वसाधारणको सुस्वास्थ्यलाई ध्यानमा राखेर ख्वप अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको सेवाबाट पनि महोत्सव अवलोकनार्थ आएकाहरू लाभान्वित भएका थिए ।
ठूलोस्तरमा महोत्सव आयोजना गर्दा झिनामसिना कमी-कमजोरी देखिनु स्वाभाविक नै हो । त्यसउसले यो सिक्दै जाने सच्याउँदै जाने भन्ने मानवीय गुण र अभ्यास मुताबिक त्यसलाई पनि ध्यानमा राखेर नगरपालिकाका कर्मचारीहरूले सूचना केन्द्रमार्फत सहयोग पुर्याइरहेको देखिन्छ । समग्रमा भन्नुपर्दा भक्तपुर महोत्सवमा शरीक हुन आएका सर्वसाधारण प्रफुल्ल देखिन्थे । उनीहरूको छनोट र रोजाईमा खानेकुराहरूमा योमरी, मःमः र समेबजी अधिक थियो । हुनतः महोत्सवमा योमरी, समेबजी र मःमःका स्टलहरूको प्रचूरता र प्रधानता थियो । महोत्सव अवलोकनकर्ताहरूको उत्साहजनक सहभागिताले आयोजकहरूमा उमंग छाएको छभन्दा अत्युक्ति नहोला । भक्तपुर महोत्सव अझै तीन दिन बाँकी छ अर्थात् यही पुस २ गतेसम्म चल्नेछ ।