रवि लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा
काठमाडौं । सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलगायत माथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहनुभएका लामिछानेलगायतमाथि देशका पाँच सहकारीबाट ६५ करोडभन्दा बढी रकम अवैधानिक रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको आरोप छ ।
सोही आरोपमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा पाँच करोड ५८ लाख रकम अवैधानिक रूपमा गएको देखिएको छ । महानगरको सहकारी शाखाको प्रतिवेदनले सभापति लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको औँल्याएको छ । कास्की प्रहरीले एकसाथ थप अभियोग र पूरक प्रतिवेदन बुझाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले अनुसन्धान अन्तिम चरणमा पुगेको बताए ।
“अनुसन्धान करिब सकिएको छ । अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गर्दै हुनुहुन्छ,” ओलियाले भने , “थपिएकै म्यादमा सक्ने प्रयत्न छ, अहिले नै यही दिनमा प्रतिवेदन बुझाउँछौँ भन्ने अवस्था रहेन ।” प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा थप अभियोगपत्र बुझाइसकेको छ भने पूरक प्रतिवेदन तयार गर्दैछ ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्ले प्रहरी प्रतिवेदन प्राप्त भइसकेपछि अभियोजनतर्फ लाग्ने उल्लेख गर्छिन् । “हामी एकसाथ दुई अभियोगपत्र, थप अभियोग र पूरक अभियोग लैजान्छौँ । थप अभियोगपत्र भर्खर प्राप्त भएको छ,” काफ्ले भन्छिन्, “पूरक अभियोगपत्र प्राप्त हुनै बाँकी छ । अभियोगपत्र प्राप्त भइसकेपछि केही समय त्यसको अध्ययनका लागि चाहिन्छ । अध्ययनपछि मुद्दा चल्ने वा नचल्ने निक्र्याेल हुन्छ । त्यसपछि अभियोगपत्र तयार गर्ने चरण आउँछ ।”
सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर भएपछि अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश आउने छ । कास्की अदालतले रविलाई धरौटी वा साधारण तारिखमा छाड्ने आदेश दिए पनि अन्यत्रका चार सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई हिरासतमै राख्ने छ । पाँच वटै ठाउँमा लामिछानेको बयान सकिएकाले पुर्पक्षमा राख्ने वा नराख्ने वा हिरासतमा राख्ने वा नराख्ने भन्ने निर्णय पनि अदालतको आदेशमै निर्भर हुन्छ ।
थप पाँच दिन थुनामा राख्न अनुमति
जिल्ला अदालत कास्कीले लामिछानेसहित पाँचै जनालाई थप पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरूलाई बिहीबारदेखि लागु हुने गरी पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि पाँच दिन म्याद थप भएको हो । लामिछानेविरुद्ध यसअघि छ पटक म्याद थप गरी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेको मानवअधिकार र स्वास्थ्यबारे सार्वजनिक रूपमा चर्चा भएकोतर्फ सङ्केत गर्दै अदालतले मानव अधिकार उल्लङ्घन हुने गतिविधि नगर्न, नगराउनसमेत भनेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले हिरासतमा पाँच जना रहेकामा सबैभन्दा पहिले पूर्वउपाध्यक्ष जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेको थियो । ९० दिनभित्र अभियोजन गर्नुपर्नेमा बिहीबार थपिएको म्यादसहित प्रहरीले ८६ दिन अनुसन्धानका लागि पाएको छ । पछि पक्राउ गरिएकाहरूलाई पनि जोशीसँगै अभियोजन गर्नुपर्ने भएकाले पुस ५ गतेभित्र अभियोगपत्र बुझाइसक्नु पर्छ ।