जनकपुर-सुदूरपश्चिम तथा काठमाडौं र लुम्बिनीबीच खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आज दुईवटा खेल हुनेछन् । पहिलो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम लायन्स तथा दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनीबीच हुनेछ ।
पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जनकपुरले यसअघिका खेलमा विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरिसकेको छ । यसैगरी सुदूरपश्चिमले यसअघि तीन खेलमा जित र एक खेलमा हारका साथ दोस्रो स्थानमा छ । यस खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउँनुको साथै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा सुदूरपश्चिम रहेको छ ।
सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो । पछिल्लो खेलमा भने चितवन राइनोजसँग हार बेहोरेको थियो । आज दोस्रो खेलमा करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोली लुम्बिनी लायन्सको सामना गर्दैछ ।
यो खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो एक बजे सुरु हुनेछ । पाँच खेलमा चारवटामा हार र एक खेलमा जितसहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ । हिजो भएको पछिल्लो खेलमा चितवन राइनोजमाथि जित हात पारेको लुम्बिनी सोहि लयलाई आज पनि निरन्तरता दिन चाहन्छ । आजको खेलमा पराजित भएमा लिगबाट बाहिरिने लुम्बिनी पहिलो टोली बन्नेछ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । हिजोको खेलमा भने लुम्बिनीले चितवनलाई पराजित गरेको थियो ।
तीनवटा खेलमा दुईमा हार र एक खेलमा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा छ । यस खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउँन चाहान्छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गतेसम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष चारवटा टोली प्लेअफमा प्रवेश गर्नेछन् ।