यस वर्षको पहिलो याममा १० नाउर र पाँच झारलको शिकार
काठमाडौं । यस वर्षको पहिलो शिकार याममा १० नाउर र पाँच झारलको शिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक शिकार खेल्न मिल्ने ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो शिकार याममा १२ नाउर र आठ झारलको शिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी शिकारले अनुमति प्राप्त गरेका थिए । एउटा नाउरको शिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना शिकारी नाउर शिकार गर्न असमर्थ भएको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ ।
जङ्गली जनावर नाउर र झारलको शिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक शिकारीले अनुमति प्राप्त गरेका थिए । जसमध्ये अमेरिकाका एक शिकारी राजश्व बुझाएर समेत नाउरको शिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै शिकारीले नाउर मार्न असफल भएको शिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिए ।
यस्तै विदेशी शिकारीले तीन वटा झारल शिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ । सात बनेलको शिकार अनुमति पाएका शिकारीले शिकारनै नगरेको आरक्षको भनाइ छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज-मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा शिकार हुँदै आएको छ । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बन्धित शिकार ब्लकमा खटाइएको हुन्छ ।
ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बनेल शिकार गर्न बिदेशीले रुचि नदेखाएको बताए । बनेलका लागि नेपाली शिकारी लाई समेत अनुमति खुला गरेपनि आवेदन नपरेको उनको भनाइ छ । उनका अनुसार पहिलो शिकार याममा ग्लोवल सफारिज नेपाल प्रालि, नेपाल ट्राभल एक्पेडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आवटफिटर्स, स्युचाटार, काठमाडौँ र ओपन नेपाल वाइल्डलाइफ सफारिज ट्रेक प्रालिमार्फत शिकारीलाई अनुमति दिइएको थियो ।
शिकार आरक्ष क्षेत्रलाई सात वटा ब्लकमा विभाजन गरिएको छ । सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा शिकार गरिएको छ । पेशेवर विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शिकारी खेल्न आरक्षमा पुग्ने गर्छन् ।
साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुचि राख्ने गरेको शिकार आरक्ष कार्यालयले जनाएको छ । शिकारीसहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जङ्गलमै समय बिताउने गर्दछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । यस वर्ष एउटै नाउरको अधिकतम रु १८ लाखसम्म राजश्व सङ्कलन भएको आरक्ष कार्यालयको भनाइ छ ।
नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना शिकारीले करिब रु २० लाखदेखि ३० लाख खर्च गर्ने गर्दछन् । विसं २०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।