बारपाककी सुचिना हत्याका आरोपी सार्वजनिक
काठमाडौं । गोरखाको सुलिकोट गाउँपालिका–१ की १८ बर्षीया सुचिना घलेको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । घलेको हत्या आरोपमा बारपाकका ४३ बर्षीय मन सम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । मंसिर १५ गते बारपाकस्थित मैखर्क जंगलमा घाँस काट्न गएकी घले मंसिर १८ गते मृत अवस्थामा भेटिएकी थिइन् ।
जंगलमा खाल्डो भित्र पुरिएको अवस्थामा घलेको शव भेटिएको थियो । हत्याको आरोपमा पक्राउ परेका गुरुङले घलेलाई एक्लो अवस्थामा देखेपछि करणीको प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । करणीको प्रयास गर्दा घलेले प्रतिकार गरेको पनि खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वासुदेव पाठकले बताए । आक्रमणको क्रममा घलेको मृत्यु भएको पनि प्रहरीले जनाएको छ । आक्रमणको क्रममा मृत्यु भएपछि ५० मिटर पर लगेर खाल्डो खनी गाडेको पनि प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।
घटनापछि आरोपितले घटना आफूले घटाएको भनी ‘नोट’ लेखी दराजमा राखेको पनि खुलेको छ । आरोपितको घर खनतलासीको क्रममा दराजमा ‘मेरो बयान’ भनी शीर्षक राखी ‘म बाट कुनै निर्दोष नारीको ज्यान गयो’ भन्ने समेत ब्यहोरा लेखिएको पाना भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले बताए । उक्त प्रेस नोटलाई पनि महत्वपूर्ण भौतिक सबुत प्रमाणको रूपमा लिएको डिएसपी सुवेदीले बताए ।
शव पोष्टमार्टमको लागि फरेन्सिक मेडिसिन विभाग त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको थियो । त्यस्तै अनुसन्धानको क्रममा संकलन गरिएको भौतिक सबुत प्रमाणहरु नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला पठाइएको छ । आरोपित मनसम्सेर गुरुङलाई सोमबार पक्राउ गरी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।