स्कर्पियो जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु
काठमाडौं । रौतहटमा आज मंगलबार बिहान दर्शनार्थी चढेको स्कर्पियो दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सो दुर्घटना परी मृत्यु हुने र घाइते सबै यात्रु सिराहाकै रहेको रौतहट प्रहरीले जनाएको छ । मृतकहरुमा सात जना महिला र एक जना पुरुष रहेका छन् ।
मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका –३ बंठियाटोलका ६० वर्षिया लरुवतीदेवी महरा, सोही टोलका ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महंगीदेवी महरा, ६२ वर्षीया फुलमन्ती देवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया शकुन्तलादेवी महरा रहेका छन् ।
त्यस्तै गाडी चालक सिराहाकै अर्नामा गाउँपालिका –५ बलुवाटोल घर भएका ४० वर्षीय श्रीकुमार यादवको पनि मृत्यु भएको छ । दुर्घटनामा सिराहाको अर्नामा गाउँपालिका –३ का उमेश रामकी श्रीमती ३० वर्षीया राधा राम, उमेश रामकै छोरा २ वर्षका आर्यन राम, सोही ठाउँका गणेश रामको २५ वर्षीया श्रीमती देवकुमारी महरा, गणेशको छोरा ७ वर्षका ऋतिक महरा र ६० वर्षीया कन्यादेवी महरा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चार जनाको अवस्था सामान्य रहेको छ भने एकजना गम्भीर घाइते कन्या देवी महरालाई चपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बयोधा अस्पताल वीगन्ज रिफर गरिएको छ । बाराको विश्व प्रसिद्ध गढीमाई मेलाबाट फर्किदै गरेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो जिल्लाको चन्द्रपुर नगरपालिका –४ पूर्वपश्चिम राजमार्गस्थित धन्सर पुल नजिकैको जंगलमा खमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।