बाँदरे प्रवृत्तिले देश बन्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उउदघाटन गरेका छन् । प्रधानमन्त्री ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने सो अवसरमा बताए ।
उनले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाए । “देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेमा देश बन्दैन ।” प्रधानमन्त्री ओलीले भने, “हामी विभिन्न पार्टीका हुन सक्छौं तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईहरुको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईहरुको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।”
कुल रु ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २,३ र ४ का ६ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३ जनसंख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयवासीलाई सम्मान गरिएको थियो ।