सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात
काठमाडौं । वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो । उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसियाली छाएको हो ।
यसैगरी बाजुरामा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नंं ६ का स्थानीय जयप्रसाद पाण्डेले बताए । यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् ।
यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ । सदरमुकाम मार्तडी आसपासमा पनि हिमपात भएको बडीमालिका–३ का स्थानीय कमल रावलले बताए । वर्षासँगै हिमपात भएपछि कृषक खुसी भएका छन् । गहुँ बालीमा पानी नपर्दा सुक्न थालेका बेला वर्षा आएपछि किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।