एनपिएल : सुदूरपश्चिम रोयल्सको पहिलो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ । त्रिवि क्रिकेट मैदानमा आज आइतबार भएको दोस्रोलमा सुदूरपश्चिमले चितवन राइनोजसँग ३३ रनले पराजय बेहार्नुपरेको हो । सुदूरपश्चिमको चौथो खेलमा यो पहिलो हार हो।

१ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनी अमरसिंह राउटेलाको बलमा आउट भए । सेफ जेबले ११ बलमा १८ रन जोडे । विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले ८ बलमा १० रन बनाए ।

चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन, अमरसिंह राउटेलाले समान २ तथा रिजन ढकाल र रञ्जित कुमालले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गरेको थियो । चितवनका ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । हसन स्कट कुगेलेनको बलमा नरेश बुढाऐरबाट क्याच आउट भए ।

रवि बोपारा १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदै दीपेन्द्रबाट अन्तिम ओभरमा आउट भए । कप्तान कुशलले १६ बलमा १३ रन जोड्दै कुगेलेनको बलमा नै आउट भए । विकेट किपर विपिन रावल सेब जेबको बलमा १७ रन जोडेर आउट भए । सुदूरपश्चिमका स्कट कुगेलेनले २ तथा सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान १ विकेट लिए ।

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो । चितवनले चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो । आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको थियो । जनकपुर लगातार ४ खेलमा विजयी हुँदा लुम्बिनी लगातार चौथो खेलमा पराजित भएको हो । एनपिएलमा भोलि सोमबार कुनै खेल छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर