सिरियामा बसर अल–असदको शासन अन्त्य भएको घोषणा
काठमाडौं । कुर्दिश नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् । सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे। राष्ट्रपति असद हेलिकप्टर चढेर रुस वा इरानतर्फ भागेको उनीहरू आशंका गरेका छन् । पश्चिमा सञ्चारमाध्यमहरूले असर चढेको हेलिकप्टर जमिनभन्दा ३.५ किलोमिटर उडेको राडारमा देखिएको र त्यसपछि त्यसको कुनै अतेपते नभएको जनाएको छ ।
दमास्कसबाट एएफपी टिभीले खिचेको तस्बिरमा विद्रोहीहरूले सूर्योदयको समयमा हवाई फायर गरेका, केहीले विजयको चिन्ह चम्काइरहेको र ‘अल्लाहु अकबर’ वा ईश्वर महान् छन् भनी चिच्याइरहेको देख्न सकिन्छ ।
तस्बिरमा कोही उत्सव मनाउन सेनाका बख्तरबन्द गाडीमाथि चढेका कोही असदका पिता हाफेजको ढलेको शालिकमा सुतेर तस्बिर लिइरहेको देखिएको छ । दमास्कसका बासिन्दा आमेर बाथाले एएफपीसँग फोनमा भने, “म विश्वास गर्न सक्दिनँ कि म यो क्षणको प्रत्यक्षदर्शी बनिरहेको छु । हामी यो दिनको लागि लामो समयदेखि पर्खिरहेका थियौँ”, उनले भने, “हामीले सिरियाका लागि नयाँ इतिहास लेख्न सुरु गर्दैछौँ ।
इस्लामिक हयात तहरीर अल–शाम (एचटीएस) समूहले असद परिवारको पाँच दशकभन्दा लामो शासनलाई चुनौती दिँदै आफ्नो अभियान सुरु गरेको दुई हप्ता नबित्दै राष्ट्रपतिको कथित बहिर्गमन भएको बताइएको छ ।
“बाथ शासनमा ५० वर्षको उत्पीडन, १३ वर्षको अपराध र अत्याचार र (जबर्जस्ती) विस्थापनपछि हामी आज यो कालो समयको अन्त्य र सिरियाका लागि नयाँ युगको सुरुवातको घोषणा गर्दछौँ,’ विद्रोही समूहले टेलिग्राममा भनेका छन् । सिरियाली प्रधानमन्त्री मोहम्मद अल जलालीले सिरियाली जनताले रोजेको कुनै पनि नेतृत्वसँग सहकार्य गर्न आफू तयार रहेको बताए । बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भने, “राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसक्नुभएको छ ।”
हिजबुल्लाहको नजिकको स्रोतले राष्ट्रपति असदको प्रमुख सहयोगीका लडाकुहरूले दमास्कस वरिपरि आफ्नो स्थान छोडेको बताएको एएफपीसँग बताएको छ । एचटीएसका अनुसार उनीहरूका लडाकुहरू राजधानीको बाहिरी भागमा रहेको ‘सेदनायाको जेलमा निरंकुशताको युगको अन्त्य’ को घोषणा गरेका थिए । उक्त जेल राष्ट्रपति असदको युगको सबैभन्दा चरम यातना दिने जेलको रूपमा विद्रोहीहरूले हेर्ने गरेका थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियामा भइरहेको ‘असाधारण घटना’ लाई नजिकबाट नियालिरहेको ह्वाइट हाउसले जनाएको छ । यसैबीच, सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू दमास्कसमा रहेको र जनताको हितमा काम गर्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमा राखिएको सन्देशमा उनले भनेका छन्, “सिरिया अरू देशजस्तै आफ्ना छिमेकी र विश्वका अन्य मुलुकहरूसँग राम्रो सम्बन्ध राख्ने राष्ट्र बन्न सक्छ ।”
यसैबीच सिररियामा रहेको रुसी सैन्य अखाडाबाट त्यहाँ रहेका रुसी सेनाहरू सतहमार्गकाट एरानतर्फ रवाना भएका छन् । उनीहरूले आफूहरूसँग भएका सैन्य सामग्रीसमेत लगेका छन् । असरदको सरकारलाई विगत डेढ दशकभन्दा बढी लामो समयदेखि समर्थन र सहयोग गदैृ आएको थियो तर यस पटक भने रुस युक्रेन युद्धमा अल्झिएको र इरान इजरायलसँग सम्भावित युद्धको संघारमा पुगेकाले असद सरकारलाई टिकाउन कुनै किसिमको मद्दत गर्न सक्ने स्थितिमा नभएकाले सिरियामा दुई हप्ताकोबीचमै राजनीतिक परिवर्तन सम्भव भएको हो ।
एचटीएसका प्रमुख गोलानीले असर समर्थक सैनिकहरूलाई शान्तपूर्वक आत्म समर्पण गरेको खण्डमा नीहरूमाथि कुनै कारवाही नगर्ने घोषणा गरेको छ । कुर्दिश विद्रोहीहरूलाई टुर्किए र अमेरिका तथा एचटीएसलाई इस्लामिक स्टेट (आइएसआइएस) ले हातहतियार सहित समर्थन गर्दै आएको छ ।