राष्ट्रपति बशर अल–असद शरण लिन रुस भागेको दाबी
काठमाडौं । सिरियाका राष्ट्रपति बशर अल–असद र उनको परिवारले देश छाडेर रुसमा पुगेको दावी गरिएको छ । हाल सिरियाको राजधानी दमास्कसमा अन्योल र त्रासको वातावरण छ । विद्रोही समूह हयात तहरीर अल(शाम (एचटीएएस) ले ‘तानाशाह’ राष्ट्रपति बसर अल(असद देश छोडेर भागेको दाबी गरेको छ । विद्रोहीहरू दमास्कसको नजिक पुगिरहँदा असादले देश छाडेर भागेको अनुमान गरिएको हो । पछिल्लो ११ दिनयता जारी विद्रोही र सैनिकबिचको संघर्षमा विद्रोही जित नजिक पुगेका छन् । विद्रोही लडाकुहरू तीनवटा शहर कब्जा गरेर अहिले राजधानी दमास्कस पुगेको सिएनएनले जनाएको छ ।
मिडिया रिपोर्ट अनुसार विद्रोहीको कब्जामा पर्ने डरले राष्ट्रपति बशर अल–असद र उनको परिवारले देश छाडेर रुसमा शरण लिन पुगेको जनाइएको छ । यद्यपि, सिरिया सरकारले असदले देश छाडेर भागेको खबरहरूको खण्डन गरेको छ । संघर्षका कारण अहिलेसम्म ३ लाख ७० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको जनाइएको छ । पछिल्लो पटक सिरियामा २७ नोभेम्बरमा सिरियाली विद्रोही हयात तहरीर अल शाम र सरकारबिच संघर्ष सुरु भएको थियो । त्यसपछि विद्रोहीले १ डिसेम्बरमा उत्तरी शहर अलेप्पो कब्जा गरेका थिए । साथै उनीहरूले ४ दिनपछि हमा कब्जा गरे । त्यसपछि ७ डिसेम्बरमा दक्षिणी शहर दारा कब्जा गरेर अघि बढेका थिए ।