जनकपुर बोल्ट्सको लुम्बिनी लायन्समाथि रोमाञ्चक जित

काठमाडौं ।  सिद्धार्थ बैंक एनपिएलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक जित हासिल गरेको छ । आज बिहान भएको खेलमा लगातार चौथो पटक जित लुम्बिनीलाई एक रनले हराएर रोमाञ्चक जित हात पारेको हो । जनकपुरले दिएको १ सय ३७ को मध्यम लक्ष्य पछ्याउँदै लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन जोडे । उनले ३८ बलमा ३ चौका प्रहार गरे । रोहित १ सय ८१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् । दोस्रो स्थानमा रहेका जनकपुरका लाहिरु मिलन्थाको १ सय ६८ रन रहेको छ । अन्तिम बलमा जितका लागि २ रन आवश्यक रहेकोमा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरले लगातार चौथो जित हात पा र्‍यो।

टम मुर्सले २३ बलमा १ चौका र २ छक्काको सहयोगमा ३१ रन जोडेर हर्ष ठाकरको बलमा आउट भए । अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ९ रन चाहिएकोमा हर्ष ठाकरले ७ रन मात्र खर्चिएर टोलीलाई लगातार चौथो जित निकाले । लुम्बिनीले पहिलो विकेटका रुपमा आशुतोष घिरैयालाई १४ बलमा ८ रन जोडेका थिए । आशुतोष ललित राजवंशीको बलमा हर्ष ठाकरद्वारा क्याच भए । अर्का ओपनर अर्जुन साउद २३ बलमा २० रन बनाउँदै आउट भए ।

जनकपुरका लागि हर्ष ठाकरले ५ तथा किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनको योगफल बनाएको थियो । जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे । अनिल सन्दीप जोराको बलमा विवेक यादवबाट समातिए ।

लाहिरु मिलन्थाले २३ बलमा २ चौकाको सहयोगमा २४ रन बनाए । यसै खेलमा डेब्यु गरिरहेका अभिशेष गौतमको बलमा उनी आउट भए । शुभ कसांकरले २४ बलमा नट आउट २२ रन जोडे । मिलन्था आउट भए लगत्तै दुई बलमा पछि अभिशेषले नै हर्ष ठाकरलाई आउट गरे । त्यसको दुई बल पछि नै अभिशेषले अर्का विदेशी खेलाडी जिमी निशमलाई आउट गराए । अभिषेशले १३औं ओभरमा महत्वपूर्ण ३ विकेट लिँदै लुम्बिनीलाई खेलमा फर्काए ।

१६औं ओभरको दोस्रो बलमा विदेशी खेलाडी मोहसिन खानलाई कप्तान रोहितकुमार पौडेलले एलबिडब्लु धरापमा पारे । मोहसिन आउट भएपछि क्रिजमा आएका शेर मल्ल त्यसको २ बलपछि रोहितको एलबिडब्लु धरापमा नै परे । पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै साद विन जाफरको बलमा विवेकबाट क्याच आउट भए । एक समय ९५ रनमा १ विकेट गुमाएको जनकपुरले ४१ रन जोड्दा ८ विकेट गुमाएको थियो ।

लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए । कप्तान रोहित र साद विन जाफरले समान २ तथा सन्दीप जोराले १ विकेट लिए । विजेता जनकपुरले प्लेअफ सम्भावना बलियो बनेको छ । यसअघि जनकपुरले विराटनगर, कर्णाली याक्स र पोखरालाई पराजित गरेको थियो । लगातार ४ खेलमा हार बेहोरेरको लुम्बिनीले यस हारबाट प्लेअफ सम्भावना कठिन भएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर