कर्णालीको पहिलो जित

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । आज भएको पहिलो खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

चितवनले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको कर्णालीले एक बल बाँकी रहँदै चार विकेट गुमाएर १३२ रन बनाएको हो ।

कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४६ रन जोडे । चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन बनाए ।

चितवनका लागि रवि बोपारा, कुशल मल्ल र जान निकोल लफ्टी इटनले समान एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरका सात विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो ।

चितवनका लागि रवि बोपाराले अविजित ५९ रन बनाए । यस्तै, कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका विपिन शर्माले सर्वाधिक तीन विकेट लिए । यस्तै, जिसान मक्सुले दुई र सोमपाल कामी तथा नन्दन यादवले समान एक एक विकेट लिए ।

कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । चितवनको यो पहिलो हार हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर