एनपीएल: विराटनगरको शानदार पुनरागमन, दर्ता गर्यो पहिलो जीत

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको बुधबारको रोमाञ्चक खेलमा विराटनगर किंग्सले बुटवल लायन्सलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले लुम्बिनीलाई २ विकेटले हराएको हो ।

लुम्बिनीले प्रस्तुत गरेको १ सय ९२ रनको विशाल लक्ष्य विराटनगरले एक बल बाँकी छँदै पुरा गर्यो । अन्तिम ओभरमा ब्याटिङ गर्न आएका क्रिस सोलेले ४ बलमा १४ रनको विजयी ईनिङ्स खेले ।

सुरुवाती दुई खेल हारेर दबाबमा आएको विराटनगरलाई तेस्रो खेलमा प्राप्त जितले राहत दिएको छ ।

बिशाल लक्ष्य पछ्याएको विराटनगरका लागि लोकेश बलमे ७१ रनको शानदार ईनिङ्स सहित राम्रो सुरुवात दिलाएका थिए । मार्टिन गुप्टिलले २८ र बासिर अहमदले ४० रन बनाएर पूर्वेली टिमको जितको आधार खडा गरेका थिए । खेलको अन्तिम समयमा कप्तान सन्दीप लामिछाने एक रनमा आउट भएपछि दबाबमा आएको विराटनगरलाई क्रिस सोलेले सम्हाले । उनले अन्तिम ओभरमा २ चौका र १ छक्का प्रहार गर्दै विराटनगरलाई प्रतियोगितामा पहिलो जित चखाए ।

लुम्बिनीका दुर्गेस गुप्ताले तीन तथा रोमन सिमोन्डस र साद विन जाफरले समान दुई दुई विकेट लिएका थिए । विवेक यादवको नाममा एक विकेट रह्यो । अन्तिम ओभरमा विवेक क्रिसको ब्याटबाट चुटिए ।

पहिलो ईनिङ्समा ब्याटिङ गरेको लुम्बिनीले ७ विकेट गुमाएर १ सय ९१ रनको प्रतियोगिताकै उच्च स्कोर खडा गरेको थियो । कप्तान रोहित पौडलको ४६ रनबाट प्रेरित लुम्बिनीका लागि टम मोरिसले ३० रन बनाएका थिए । लुम्बिनीले २९ रन अतिरिक्त प्राप्त गरेको थियो । विराटनगरका सन्दीप लामिछाने, इस्मत अलाम र राजेश पुलामीले समान एक एक लिए ।

विराटनगरले तीन खेलबाट पहिलो जित निकाल्दै दुई अंक जोडेको छ । लुम्बिनी पहिलो खेलमा पराजित हुँदै अंक जोड्न असफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर