दोहोरो अङ्कले घट्यो शेयर बजार, बढ्यो कारोबार

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ विन्दुमा पुगेको छ । आज बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरका २ करोड ३ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स २.१८, फ्लट इन्डेक्स ०.५९ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.५७ अंकले घटेको छ । १३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य बढेको हो ।

आज कारोबारमा आएका २४४ मध्ये १३२ कम्पनीको शेयरमूल्य घटेको छ भने १०४ कम्पनीले कमाएका छन् । यस्तै ८ कम्पनीको शेयर स्थिर रहेको छ ।

आज खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आज जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर