काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत कर्णाली याक्सले दोस्रो हार ब्यहोरेको छ । बुधबार त्रिवि क्रिकेट स्टेडियममा भएको भिडन्तमा काठमाडौं गुर्खाजले कर्णालीलाई ३ विकेटले हराएको हो ।
पहिले ब्याटिङ गर्दै शिखर धवनको ७२ रनको योगदानमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती दिएको थियो । कर्णालीका लागि नटआउट रहेका शिखरले ५२ बलमा ७२ रनको शानदार पारी खेलेका थिए । तर काठमाडौंका करण केसीको विस्फोट ब्याटिङले उनको प्रदर्शन पनि ओझेलमा पारिदियो ।
काठमाडौंको जितमा नटआउट रहेका सुमित महर्जनले ३७ बल सामना गर्दै ४० रनको योगदान दिए । त्यसैगरी जेर्राड इरास्मसले २८ बलमा ३८ रनको योगदान गरे । उता मिचेल लेभिटले १९ बलमा २२ रन बनाए। कप्तान एवम् अलराउन्डर करणले काठमाडौंका लागि १० बलमा २८ रनको विस्फोटक ब्याटिङ गरेपछि खेल कर्णालीको हातबाट उम्किएको थियो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले काठमाडौंसामू १ सय ५० रनको लक्ष्य दिएको थियो । कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । कर्णालीका ओपनर शिखर धवनले ७२ रनको अर्धशतकीय पारी खेले ।
एनपीएलमा धवनको यो पहिलो अर्धशतक हो । यस्तै, चाल्डिक वाल्टनले २१, जिशान मक्सुद १४, बाबर हायत १३ तथा गुलशन झाले १२ रन जोडेका थिए । काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कँडेल र करण केसीले एक–एक विकेट लिए ।