इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको शानदार जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ । आइतबार भएको खेलमा युनाइटेडले एभर्टनमाथि ४–० को एकतर्फी जित दर्ता गरेको हो ।
युनाइटेडको जीतमा मार्कस रासफोर्ड र जोशआ जिर्कजेले २–२ गोल गरे । खेलको ३४ औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरमा मार्कस रासफोर्डले भली प्रहार गर्दै गोलको खाता खोलेका थिए । ४१ औं मिनेटमा जोशआ जिर्कजेले ब्रुनो फर्नान्डेजको क्रसमा गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोल गरेको युनाइटेडले दोस्रो हाफमा अरु २ गोल थपेको थियो ।
दोस्रो हाफको सुरुवातमै, एर्भटनका गोलकिपर जोर्डन पिकफोर्डको लामो पास दिए पनि म्यानचेस्टर युनाइटेडका अमाड बल खोस्दै रासफोर्डलाई दिए । सोही बलमा रासफोर्डले सहजै गोल गरेपछि युनाइटेड ३–० ले अघि बढेको थियो । ६४ औं मिनेटमा जोशआ जिर्कजेले गोल गर्दै युनाइटेडको ४–० को जित पक्का गरे । जीतसँगै युनाइटेड १९ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।
म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डमा नयाँ प्रशिक्षक रुबेन आमोरिमको नेतृत्वमा पहिलो प्रिमियर लिग जित हासिल गरेको हो । तर, प्रशिक्षक आमोरिम भने खेल अवधिभर खुसी देखिएनन् । उनले खेलभरि टच लाइनमा टोलाउने, हात हल्लाउने र आफ्नो असन्तुष्टि व्यक्त गर्दै समय बिताएका थिए । यसैगरी चेल्सीले एस्टन भिल्लामाथि ३–० को जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । निकोलस ज्याक्सन, एनजो फर्नान्डेज र कोल पाल्मरको गोलले चेल्सीलाई सहज जित निकालेको हो ।
त्यसैगरी लन्डन डर्बीमा टोटेनहम हट्स्परलाई फुलहमले १–१ को बराबरीमा रोकेको छ । घरेलु टोलीका ब्रेनन जोनसनले खेलको सुरुवातमै गोल गरे पनि फुलहमका टम केर्नीले दोस्रो हाफमा गोल फर्काउँदै खेल बराबरीमा पु¥याए । केर्नीले ८२औं मिनेटमा रातो कार्ड पाएपछि फुलहम १० खेलाडीमा सीमित भएको थियो ।