काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेका कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन गरिएको छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष नागरिकलाई देखाउने प्रचलनअनुसार आज बिहान प्रदर्शन गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
मार्गशीर्ष कृष्ण औँसीका अवसरमा यही मङ्सिर १६ गते बिहान पनि अर्को वर्षका लागि सुरक्षित राखिँदै छ भनी आममानिसलाई देखाउने परम्पराअनुसार यो परम्परा रहेको उनले बताए। पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न हजारौँ भक्तजनको घुइँचो लागेको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मीको सहयोगमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान प्रदर्शन गरिएको थियो । बाला चतुर्दशीको एक दिन अगाडि त्रयोदशी तिथि पारेर देशभरबाट धेरै भक्तजन दिवङ्गत पितृका नाममा पशुपतिमा बत्ती बाल्न आउने अवसर पारेर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष देखाउने परम्परा सुरु भएको कोषले जनाएको छ ।