दुग्ध किसानलाई एक अर्ब ३० करोड भुक्तानी गरेको दाबी

काठमाडौं ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुग्ध किसानलाई एक अर्ब ३० करोड भुक्तानी गरेको दाबी गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहीबारको बैठकमा मन्त्री अधिकारीले सरकार दुग्ध विकास संस्थानलाई सुधार गर्ने पक्षमा लागेको बताए ।

मन्त्री अधिकारीले असोज मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ५८ करोड रुपैयाँलाई घटाएर ५६ करोड बाँकी रहेको, कर्मचारीलाई उपदान दिनुपर्ने आठ करोड ३८ लाख, कर्मचारीको तलब चार करोड ६३ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने २३ करोड २४ लाखमध्ये अब कर्मचारीलाई उपदान दिनुपर्ने सात करोड २४ लाख, कर्मचारी तलब एक करोड सात लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने १३ करोड ११ लाख र भ्याट भुक्तानी तीन करोड ९४ लाख बाँकी रहेको पनि बताए ।

उनले सरकारमा आएको चार महिनाको अवधिमा सरकारसँग ६० करोड र बाँकी आफैँ आम्दानी गरेर भुक्तानी गर्न सफल भएको जानकारी दिए । उनले सरकारले आज बिहीबारको मन्त्रिपरिषदको बैठकबाट उखुको समर्थन मूल्य तोक्ने बताए । भोलिसम्ममा उखुको समर्थन मूल्य सार्वजनिक हुने उनको भनाइ छ । उनले बाली बीमामा लामो समय रोकिएको पैसा यस वर्ष समयमा नै भुक्तानी दिएको बताए ।

मन्त्री अधिकारीले भने, ‘‘उखुको सन्दर्भमा मन्त्रालयले समर्थन मूल्यको लागि मन्त्रिपरिषदमा पठाएका छौं । भोलिसम्म उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुन्छ । उखु किसानहरु अत्यन्तै मर्कामा छन् । राज्यले किसानलाई दिनुपर्ने मूल्य असोजमा पठाइसक्यौं । यो वर्षको समर्थन मूल्य तोकेपछि त्यसको व्यवस्थापन पनि यो वर्ष नभए पनि यही समयसम्म काम अगाडि बढ्छ ।’’

उनले किसानलाई दिनुपर्ने मल समयमा उपलब्ध गराउन नसक्नुको पछाडि सरकारको झन्झटिलो कानुन भएको बताए । उनले त्यसका लागि सरकारले सार्वजनिक खरिद ऐनलगायतका कानुनहरु संशोधन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बताए । उनले कानुनहरु संशोधन आगामी संसद् अधिवेशनमा अगाडि बढ्ने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर