५५ करोडको बेटिङ सञ्चालन गर्ने २७ वर्षीय राई पक्राउ

काठमाडौं । जत्ति कानुन बलियो हुँदै जान्छ त्यत्ति अपराधका चाल हुर्कंदै जान्छ भने जस्तै एक २७ वर्षीय युवक बेटिङ एप्समार्फत ५५ करोड बढीको कारोबार गरेको कसुरमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथर घर भइ ललितपुर बस्दै आएका ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरेको छ।

राईले बेटिङ एप्समार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमअन्तर्गत जुवा खेलाउने गरी रकम संकलन गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्नेलगायतका गैरकानुनी कार्यहरू गर्दै आएको प्रहरीले जनाएको छ । राईले ७५ वटा बैंक खाता, १२८ वटा इ–सेवा वालेट र बिनान्स आइडी प्रयोग गरी हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँबराबरको कारोबार गरेको खुल्न आएको प्रहरीले आफ्नो अनुसन्धानमा फेला पारेको छ ।

राईलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद(५) को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए।

त्यस्तै राईले २५ वटाभन्दा बढी जिमेल खाता अनलाइन बेटमा प्रयोग गरेका थिए भने विभिन्न स्थानमा कोठा लिएर हुलिया परिवर्तन गर्दै हिंड्ने गरेको प्रहरीको भनाइ छ। उनको साथबाट २ थान ल्यापटप, ८ थान मोबाइल, एनसेलको ७० वटा सिम र एनटीसीको ५ वटा सिम, दुई थान राउटर, ११ जनाको नागरिकताको प्रमाणपत्र, १५ जनाको पासपोर्ट, २२ वटा चेकबुक, ४२ वटा एटीएम कार्ड र एक थान मोटरसाइकल फेला बरामद गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर