विदेश पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा २ जना पक्राउ
काठमाडौं । विदेश पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकनवानपुरको बकैया गाउँपालिका–५ घर भइ काठमाडौंको नागार्जुन नगरपालिका–५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ घर भइ काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेका छन् ।
सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुबई पठाइदिन्छु भन्दै अर्का एक जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले सुवर्णलाई काठमाडौंको बाफलबाट सोमबार र मनिषालाई नयाँबसपार्कबाट मंगलबार पक्राउ गरेको हो । रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।