एमालेका लुम्बिनी प्रदेशसभा सदस्य पार्टीबाट निलम्बित
काठमाडौं । नेकपा एमाले बाँकेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरी पार्टी सङ्गठित सदस्यबाट निलम्बनको कारबाही गरेको छ ।
पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसायका साथ केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिक रुपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने जस्ता गतिविधि निरन्तर गरेपछि पार्टी विधानको धारा ८(३) र (४०) बमोजिम स्पष्टीकरण सोधिएकोमा कमीकमजोरी महसुस गर्नुको साटो नेता, कार्यकर्ता र समग्र पार्टीविरुद्ध लिखित जवाफ दिएपछि विधानको धारा ८१ (७) को अनुशासनको कारवाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङले भने, “लगातार पार्टी नेता र पार्टीविरुद्ध गतिविधि जारी राखेपछि निलम्बनको कारबाही गर्न बाध्य भएका छौं ।” प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा एमालेको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारु लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पूर्वमाओवादी सेनामा रहेका थारु नेकपा विभाजनपछि एमालेमै रहेर प्रदेश कमिटीको उपसचिव भएका थिए ।