आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै

काठमाडौं ।  आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदैछ । सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई यसकै आधारमा २०६७ साल चैत ७ गते भएको थियो । सामाजिक सुरक्षा योजनाहरुको औपचारिक शुभारम्भ भने २०७५ मङ्सिर ११ गते भएको थियो । त्यसैले कोषले मङ्सिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गर्दछ ।

पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक क्षेत्रका र वैदेशिक रोजगारीमा गएका श्रमिकका १८ वर्षमुनिका छोरा–छोरीलाई पनि स्वास्थ्य सुविधामा समेटिएको छ । यस्तै सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले वार्षिक एक लाखसम्मको औषधि उपचार सुविधा पाउने गर्दछन् । कोषमा २ वर्ष योगदान गरेकालाई घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्चको शोधभर्ना हुन्छ । यसैगरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ता कामको सिलसिलामा दुर्घटना भएमा त्यसको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्छ । अन्य दुर्घटनाको उपचारको ७ लाख रुपैयाँसम्म शोधभर्ना हुन्छ ।

स्थायी रुपमा अशक्त भएमा अशक्तताको अनुपातको आधारमा आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन पेन्सन पाइन्छ । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रति परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाअनुुसार सुविधा पाउँदै आएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था गरेको छ ।

कोषका अनुसार अहिलेसम्म १९ हजार सात सय ६९ रोजगारदातामार्फत १७ लाख ९७ हजार ६ सय ४० जना योगदानकर्ताले रकम जम्मा गरिरहेका छन् । अहिलेसम्म ६८ अर्ब ३८ करोड रुपैयाँ भन्दा धेरै योगदान रकम जम्मा भएको छ भने ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानीको निवेदन प्राप्त भएको छ । एक अर्ब ४८ करोड रुपैयाँ औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम, १५ करोड २१ लाख रुपैयाँ दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम, १८ करोड ५५ लाख रुपैयाँ आश्रित परिवार सुरक्षा दाबी रकम र नौ अर्ब ८० करोड रुपैयाँ अवकाश दाबी रकम रहेको कोषले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर