धरहरा चढ्न प्रति व्यक्ति दुई सय रुपैयाँ शुल्क लाग्ने
काठमाडौं । सरकारले धरहरा चढ्नका लागि प्रति व्यक्ति दुई सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।
यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ।
शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रति व्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रति व्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रति व्यक्ति १हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रति घण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ। त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रति घण्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छायाँकन गर्न प्रति घण्टा ५ हजार र फोटोग्राफीका लागि प्रति घण्टा १ हजार रुपैयाँ तोकिएको छ।