बालेनले १ लाख जरिवाना ठोकेपछि एमालेद्वारा दरवार मार्गमा सरसफाइ
काठमाडौं । महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिर्न आदेश दिएको छ । शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको जागरणसभाका क्रममा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको हो । महानगरले सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरि वातावरण प्रदुषण गरेकोले एक लाख जरिवाना गरेको जनाएको छ ।
काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षरमा एमाले पार्टी कार्यालयका नाममा प्रेषित पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००/०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
यसैबीच महानगर एक्सनमा उत्रिएपछि एमालेले भने लोकलाज छोप्न नामको सरसफाइ गरेको छ । महानगरको सरसफाइ समूहले सडक सफा गरेपछि एमालेको भ्रातृ संगठन युवा संघले सरसफाइ गरेको हो । युवा संघका निवर्तमान अध्यक्ष रमेश पौडेलले महानगरले प्रतिशोध साँधेको आरोप लगाए । साथै, उनले फोहोर संकलन गरी सवारी साधनको सहयोग माग्दा नदिएको पनि आरोप लगाएका छन् ।