नकलबन्दा टी इस्टेटको १० बिघा जग्गा सरकारको नाममा फर्काइयो
काठमाडौं । मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्काइएको छ ।
मेचीनगरका नगर प्रमुख गोपाल बुढाथोकीले नगर प्रहरी, उपप्रमुख, वडाध्यक्षहरुसहित जग्गा रहेको चिया बगानमा पुगेर हिजोदेखि उक्त जग्गा सरकारको स्वामित्व र नगरपालिकाको संरक्षणमा रहने घोषणा गरे । नगर प्रमुखसँगै गएका नगर प्रहरीले उक्त सरकारी जग्गाको क्षेत्रफल अङ्कित साइनबोर्ड राखेका छन् ।
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अनुसार हाल चिया बगान रहेको उक्त जग्गा २०४८ असोज २५ गते उद्योगी दिनेशप्रसाद कानुले आफ्नो नाममा दर्ता गरेका थिए । ऐलानी पर्ती रहेको जग्गालाई कानुनले छुट दर्ताको पर्चा खडा गरेर आफ्नो नाममा दर्ता गरेको र आफ्नै स्वामित्वको नकलबन्दा टी इस्टेटलाई २०५५ असोज ११ गते बिक्री गरेका थिए ।
सरकारी जग्गालाई निजी बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ मङ्सिर २२ गते नकलबन्दा टी इस्टेटको नाममा रहेको जग्गा बदर गरी सरकारको कायम गर्ने निर्णय गरेको थियो । (तस्बिरः सांकेतिक)