प्रधानमन्त्रीको ओलीको व्यङ्ग्य : “भन्नलाई त भने भयो, अमेरिकी बैंकमा आधा लगानी मेरै छ”
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा आफूले ३२ अर्ब लगानी गरेको भनेर दुर्गा प्रसाईंसहितले लगाएको आरोपको जवाफ दिएका छन् । एमालेका उपत्यकास्थित तीन जिल्ला कमिटीले शुक्रबार दरबार मार्गमा आयोजित जागरणसभामा आफूलाई आरोप लगाउनेहरूलाई कम्बोडिया गएर खोज्न चुनौती दिए ।
‘भन्नलाई त भने भयो, अमेरिकी बैंकमा आधा लगानी मेरै छ । हल्ला चलाउनेहरूलाई सुझाव छ, कम्बोडियामा जहाज चढेर ४ घण्टामा पुगिन्छ । यहाँबाट बैंकक गएपछि, त्यहाँबाट ४५ मिनेटमा कम्बोडियामा पुगिन्छ । त्यहीँको लगानी पनि थाहा हुँदैन र ? आरोप लगाउनेले त्यहीँ गएर खोजी गरून् ।’ ओलीले केही मान्छेले हात्तीको बथानमा गएर नाङ्लो ठटाउने शैलीमा एमालेलाई जिस्काइरहेको बताए । ‘एमाले हात्तीको बथान हो, कसैले नाङ्लो ठटाउने कोसिस नगरे हुन्छ । एमाले अहिले एकतावद्ध छ’, उनले भने ।
प्रधानमन्त्री ओलीले कानुनविपरीत क्रियाकलाप गर्ने जोसुकै भएपनि नछोड्ने बताए । अराजकता ,सामाजिक विद्धेष र विकृतिका विरुद्ध , लोकतन्त्र ,सामाजिक सद्धभाव र राष्ट्रिय एकताका पक्षमा एमालेले जागरण सभा रहेको उनको भनाइ छ।
‘कसैले पनि कानुन विपरीत गर्न नहुने अपराधिक क्रियाकलाप गर्छ भने नेकपा एमालेले छोड्दैन। मैले नेतृत्व गरेको सरकारले पनि छोड्दैन। अहिले एमाले र कांग्रेसको मिलिजुली संयुक्त सरकार छ। यसले छोड्दैन,प्रधानमन्त्री ओलीले भने,’ यो सरकार देशमा अनुशासन ल्याउनका निम्ति सोचविचार गरेर गठन गरिएको हो।’
सरकारसँग सहकारी ठगीका अनेक प्रमाण रहेको उनको भनाइ छ। उनले सहकारी ठगीमा दोषी देखिएका जोसुकै भएपनि कारवाही हुने बताए। प्रधानमन्त्रीले भने,’सहकारी ठगीका अनेक प्रमाणहरू छन्। आफै सहकारी ठगी गर्ने अरुलाई मुख छाड्ने। अरूलाई गाली गर्ने। कुनै पनि भ्रष्टाचार सह्यै हुने छैन। कुनै पनि प्रकारको ठगी सह्यै हुनेछैन। मानव तस्करी सह्यै हुने छैन। कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको जोसुकै जुनसुकै होस् अनुहार हेर्दैन। अपराध गर्नेलाई कारबाही गर्छ।’
प्रधानमन्त्री ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताए । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरे । उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि स्पष्ट गरेका छन् ।