खर्च जुटाउन राउटे टोली पोखरामा

काठमाडौं । ‘बडा तिहार’ मनाउने खर्च जोहो गर्न सुर्खेतबाट लोपोन्मुख नेपाली जाति राउटेको टोली पोखरा आइपुगेको छ । राउटे मुखियाको नेतृत्वमा ७ जनाको टोली हिजो पोखरा आइपुगेको र आज उनीहरुले पोखरा महानगरपालिकाका जनप्रतिनिधिसँग भेटघाट गरेका छन् ।

आफूहरु एकसरो लुगा, चामल, तेल, दाल तथा खसीका लागि आवश्यक पर्ने रकम जुटाउन पोखरा आइपुगेको राउटे मुखिया शेरबहादुर रासकोटी शाहीले बताए । मङ्सिरमा बडा तिहार मनाउने गरिएकोमा यस वर्ष यही १२ गतेबाट उक्त चाड सुरु हुने र लगातार ५ दिनसम्म चल्ने उनले जानकारी दिए । उनले १० वर्ष अगाडि समेत पोखरामा सहयोग उठाउन आएको स्मरण पनि गरे ।

टोलीले गण्डकी प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्कीलगायतबाट पनि सहयोग प्राप्त हुने आशा गरेको छ । बडा तिहारमा ७–८ वटासम्म खसी काट्नुपर्ने र सोहीअनुसार रासनपानी चाहिने भएकोले खर्च जोहो गर्नु परेको उनीहरुको भनाइ छ ।

राउटे जातिलाई चाडपर्वको बेला खर्च जुटाउन र जाडो मौसममा एकसरो लुगा जुटाउन समेत समस्या हुने गरेको छ । राउटे सुर्खेतमा ४६ घरधुरी गरी करिब २ सयको हाराहारीमा रहेका छन् । त्यसका साथै राउटेको टोलीले फेवाताललगायत पोखराका महत्वपूर्ण पर्यटकीय स्थलको अवलोकनसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर