हवाई भाडादर घटाउन कार्यदल, नेवानिले छुट दिन सुरु
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन बुझाउनेगरी गठित कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट र कालोबजारी अध्ययन तथा अनुगमन गरी सुझाव दिनेछ । उक्त सुझावका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिने उनले उल्लेख गरे ।
हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएको थियो । सो निर्देशन बमोजिम आज अन्तर्राष्ट्रिय उडान गर्ने ११ हवाई कम्पनीले बिक्री गरेका टिकटको मूल्य, टिकटको उपलब्धता र यात्रुको विवरण बुझाएको मन्त्रालयले जनाएको छ ।
नेपाल वायुसेवा निगमले हवाई भाडा घटायो
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम रु दुई हजार पाँचसयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइनेछ । काठमाडौँबाट भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर सेक्टरका लागि बजार भाडादरमा रु दुई हजार पाँच सयसम्म छुट दिइनेछ भने कतारको दोहा युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई, साउदी अरेबियाको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा पाँच हजारसम्म दिइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हवाईभाडादर घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष निर्देशन बमोजिम राष्ट्रिय दायित्व निर्बाह गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरुको भाडादरमा छुट दिन थालिएको निगमले जनाएको छ ।
हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हवाईभाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्रीले एयरलाइन्सहरुले नागरिकको मर्का बुझिदिन अनुरोध गरेको थियो ।
निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही नोभेम्बर १ देखि २२ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ ।।