गणतन्त्र विरोधीविरुद्ध एमालेको आज शक्ति प्रदर्शन
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ। जागरण सभा भनिएको प्रदर्शन अपराह्न साढे १२ बजे काठमाडौंको दरबारमार्गमा हुन लागेको हो।
सभाअघि बिहान साढे ११ बजे काठमाडौंको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने छ। दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट जन समर्थन देखाउन विरोधीहरूलाई सन्देश दिन चाहेकोे छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरुक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताए।
‘शुक्रबारको जनसभाको अन्तिम तयारी पूरा भइसकेको छ, यो मूलतः हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरण गर्ने कार्यक्रम हो,’ गौतमले भने।
यसैगरी आजै काठमाडौंको कोटेश्वरमा दुर्गा प्रसाई समर्थकको र माइतीघरमा सहकारीपीडितको पनि प्रदर्शन रहेकाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गरिएको छ ।