नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई भैरहवामा बिदाइ
काठमाडौं । विश्वकप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई भैरहवामा बिदाइ गरिएको छ । रूपन्देही क्रिकेट सङ्घले भैरहवामा बुधवार एक कार्यक्रमबिच टिमलाई बिदाइ गरेको हो ।
पाकिस्तानमा हुन लागेको नेत्रहीन टी–२० विश्वकपमा सहभागी हुन बुधवार नेपाली टिम रूपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ । टिममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना सहभागी छन् । नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लावर र मुल्तानमा हुने विश्वकपमा नेपाली टिमले प्रतिस्पर्धा गर्नेछ ।
खेलाडीलाई बिदाइ गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापा, सङ्घका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट सङ्घका पूर्वकार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, सङ्घका रुपन्देही सचिव सञ्जय गुरुङ लगायतले उपाधि जितेर फर्किन शुभकामना दिए ।
पाकिस्तानमा हुन लागेको नेत्रहीन टी–२० विश्वकप चौथा संस्करणको हो । नेपाली नेत्रहीन राष्ट्रिय क्रिकेट टिमका कप्तान रमेशबहादुर बानियाँले सरकारी पक्षबाट राम्रो सहयोग नभए पनि केही समयको तयारीले विश्वकप खेल्न जान लागेको उल्लेख गरे । पछिल्लो समय नेपाल क्रिकेट सङ्घले केही सहयोग गरे पनि अन्य सहयोग नपाएको गुनासो उनको छ । छोटो समयको तयारी भए पनि आफूहरूले उपाधि जित्ने विश्वास लिएर टिम एक ढिक्का भएर देशका लागि खेल्ने कप्तान बानियाँले बताए ।