चार महिनामा भारतलाई १२ अर्ब ७१ करोडको विद्युत् निर्यात
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालले भारतलाई १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ ।नेपाल विद्युत प्राधिकरणले चालू आव २०८१/८२को साउन, भदौ असोज र कात्तिकमा १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।
चार महिनामा भारतलाई निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ । साउनमा ४ अर्ब १४ करोड ५० लाख ७७ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ । साउनमा ४९ करोड ५६ लाख ६ हजार युनिट विद्युत् औसत दर प्रतियुनिट ८ रुपैयाँ ३६ पैसाको दरले निर्यात गरिएको हो ।
यस्तै, भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । भदौमा निर्यात गरिएको ५५ करोड ९४ लाख ४७ हजार युनिट विद्युत् निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ६ रुपैयाँ ५८ पैसा थियो । त्यसैगरी असोजमा ३ अर्ब ६ करोड ५१ लाख ३९ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ । असोजमा ३७ करोड ९२ लाख ६३ हजार युनिट विद्युत् निर्यात गरिएकोमा औसत दर प्रतियुनिट ८ रुपैयाँ ०८ पैसा रहेको छ ।
यस्तै, कात्तिकमा २३ करोड ३५ लाख ७६ हजार युनिट विद्युत् निर्यात भएको छ । कात्तिकमा १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँको विद्युत् औसत दर प्रतियुनिट ७ रुपैयाँ ८४ पैसामा निर्यात गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।