दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित
काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका छौँ । र, उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिनेछ’, उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंगलबार सीआईबीको टोली भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ
यसैबीच एमालेका युवा नेता ऐन महरको जाहेरीमा बझाङ घर भएकी युवती रश्मिला धामी पक्राउ परेकी छन् । अदालत परिसरमा उनले विष सेवन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसूरको आरोप छ । महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै काठमाडौं प्रहरीमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो ।
पाटनस्थित उच्च अदालत परिसरबाट बुधबार उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनी आमुने-सामुने भएकी थिइन् । प्रहरी देख्नासाथ आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको बताइएको छ । उनलाई उपचारका निम्ति पुल्चोकस्थित अल्का अस्पताल लगिएको थियो ।