धार्के-सीतापाइला सडकको कालोपत्रे गर्ने काम अन्तिम चरणमा
काठमाडौं । राजधानी प्रवेशका लागि पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको वैकल्पिक मार्गको रूपमा तीस वर्ष अघि ट्र्याक खोलिएको धार्के–सीतापाइला सडकको कालोपत्रे गर्ने कामले तीस वर्ष पछि पूर्णता पाएको छ । धादिङको धार्केदिेख काठमाडौंको सीतापाइलासम्मको २४ किलोमिटरमध्ये २२ किलोमिटर कालोपत्रे गर्ने काम सम्पन्न भईसकेको छ भने अब दुई किलोमिटर चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम भएको सडक विभागले जनाएको छ ।
यससँगै निर्माणाधीन अवस्थामा रहेको त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग हुँदै सङ्घीय राजधानी प्रवेश गर्ने सवारीका साधनहरूको चाप निकै कम हुने छ भने ती राजमार्गहरूको रूपमा वैकल्पिक मार्गको रूपमा सवारीका साधनहरूले यो सडक प्रयोगमा ल्याउन सहज भएको छ । तराईका जिल्लाहरूबाट राजधानी प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग निर्माणाधीन अवस्थामा रहेकोले अहिले सो सडकमा सवारी चाप समेत बढेको छ । विशेषगरी साना र दुई पाङ्ग्रे सवारी अहिले सो सडक हुँदै राजधानी प्रवेशका लागि जाने गरेका छन् ।
अब सडक स्तरोन्नतिसहित कालोपत्रे भएपछि भने सबै प्रकारका सवारीका साधनहरू यही सडक हुँदै राजधानी प्रवेश गर्न सक्ने प्राविधिकहरूको भनाइ छ । सडक स्तोरोन्नतिसहित कालोपत्रे गर्न अहिले ठुलो खोला क्षेत्रमा बाँकी भएका स्थानमा धमाधम काम भइरहेको छ । पृथ्वी राजमार्गको धार्के बजारबाट ठुलो खोला हुँदै सडक सीतापाइला जोडिने छ ।