रुसले आक्रोशित हुँदै भन्यो : “तेस्रो विश्व युद्ध हुन सक्छ”
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई रुससँगको युद्धमा लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएका छन् । अमेरिका आफैले युक्रेनमा यी मिसाइलहरू पठाउँदै आएको छ । यो कदमपछि रुस आक्रोशित बनेको छ । यस विषयमा रुसले कडा प्रतिक्रिया दिएको छ । रुसको आधिकारिक पत्रिका रोसिस्काया गजेटाको वेबसाइटमा पनि यस विषयमा टिप्पणी गरिएको थियो ।
यसमा लेखिएको थियो, ‘अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो शासनकालमा लिएका निर्णयहरूमध्ये सबैभन्दा उत्तेजक मात्र नभएर कुनै पनि परामर्श बिना नै लिइएको छ, जसको नतिजा निकै गम्भीर हुन्छ । धेरै खतरनाक हुन सक्छ ।’
रुसी सांसद लियोनिद स्लुत्स्की क्रेमलिन समर्थक लिबरल-डेमोक्रेटिक पार्टीको अध्यक्ष छन् । उनी महसुस गर्छन्, ‘यसले निश्चित रूपमा तनाव बढाउनेछ, जसको परिणामको धम्की पनि हुनेछ ।’ रुसी सिनेटर भ्लादिमिर जाब्रोभले यसलाई तेस्रो विश्वयुद्धतर्फको कदम भनेका छन् । अमेरिकी निर्णयप्रति रुसमा आक्रोश छ तर, वास्तविकतामा कुनै आश्चर्य छैन ।
सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने राष्ट्रपति भ्लादिमिर पुटिनले यसबारे के भन्छन् । अहिलेसम्म उनी यस विषयमा मौन छन् । राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, ‘यदि यस्तो निर्णय लिइयो भने, यसको मतलब तनावको नयाँ चक्र सुरु हुनेछ र यस विवादमा अमेरिकाको प्रवेशले नयाँ अवस्था सिर्जना गर्नेछ ।’ पेस्कोभले बाइडेन प्रशासनलाई आरोप लगाउँदै भने, ‘उनीहरूले आगोमा इन्धन थपिरहेका छन् र यस विवादमा निरन्तर तनाव बढाइरहेका छन् ।’