पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि गरिएको छ । सोमबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनलाई छोराहरूले दागबत्ती दिएका छन्। लगत्तै नेपाली सेनाको एक टुकडीले शोकधुन बजाएको थियो। उनको अन्तिम बिदाइमा पशुपति आर्यघाटमा मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी,सुरक्षा निकायका प्रमुख, नेता-कार्यकर्ता,शुभेच्छुक तथा सर्वसाधारणको भीड लागेको थियो।
अन्तयेष्टि अघि ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा रािखएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियो ।
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको राजकीय सम्मानसहित अन्तयेष्टि गर्ने र आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्नुहुने ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए